Logo

जलवायु परिवर्तनकाे असर

Sankhuwasabha Express ६ कार्तिक २०७८, शनिबार १९:१२ मा प्रकाशित

  • बिनुका शेर्पा

दुई दिन देखिको लगातार झरीरहेको झरीले मन निथ्रुक्कै भिजेको छ । असारे झरी, साउने झरी, भदौरे झरी, सुन्दै देख्दै आएको हाम्रो पुस्ताले यो कात्तिके झरीको पनि साक्षी बस्नु पर्ने भयो ।

बर्ष भरि दुख गरेर भित्राउन लागेको वेला भिजेको धानको मुठा सँगै भिजेका किसानहरूका मन, यात्रामा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूको रोक्किएको कदम, बाढि र पहिरोले भत्काएका सडक तथा पुलहरू अनि पहिरो सँगै पुरिएका ति सपनाहरू सबैको साक्षी बस्नु परेको छ ।

साविक भन्दा ढिलो गरि प्रवेश गरेको तथा ढिलो बाहिरिएको मनसुन सक्कियो भन्न नपाउँदै अनाहकमा आइपुगेको यो झरिले सवैलाई चकित पारेको छ ।यो काम न काजको विनाशे बेमौसमे झरि के कति कारणले भयो भनेर मौसमविद हरूले बताउँदै होलान् । तर अहँ मलाई ति कुनै तथ्यको पछाडी लाग्न मन छैन । मेरो अटेरी मन र दिमागले भनिरहेको छ कि यो जलवायु परिवर्तनको असर हो ।

सामान्यतया पृथ्वी तथा यसको वायुमण्डलको तापक्रममा वृद्धि भएको अवस्थाले लामो समयको अन्तरालमा वातावरणमा पारेको असर र परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । अर्थात पृथ्वीमा मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासको अत्याधिक उत्सर्जन भई पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन भएको हो । जलवायु परिवर्तनका थोरै कारण छन् भने असर हरू वृहत छन् ।

जलवायु परिवर्तनका असर भन्दा मलाई आफूले भोगेको दुई वटा घटनाहरू याद आयो, पहिलो, वि.सं. २०७० साल तिर जिव विज्ञान पढाउनु हुने गुरूले सुनाउनु हुन्थ्यो, ” म २०४५ सालमा काठमाण्डौँ आएको हुँ त्यस वेला लामखुट्टे (मच्छर) को विउ पनि भेटिँदैन थियो । तर अहिले गर्मिमा झुल नलगाई सुत्न सकिँदैन ,” मैले सोचे अवको केहि वर्ष पछाडी काठमाण्डौँ मन्दिरै मन्दिरको शहर देखि मच्छरै मच्छरको शहरमा रूपान्तरण हुने पो हो कि ?

दोश्रो सम्झना:-आज भन्दा ठ्याक्कै दुई वर्ष अगाडी म यहि समय सगरमाथाको वेसक्याम्प सम्मको यात्रामा निस्किएको थिएँ । बाटोमा नाङ्गा पहाडहरू देखिन्थे, म संगै यात्रामा रहेको पथपर्दशक दाई भन्दै हुनुन्थ्यो , ” दुई, तिन वर्ष अगाडी सम्म यी डाँडाहरूमा सेताम्मे हिउँ देखिन्थे आज विस्तारै नाङ्गा डाँडाहरूमा परिवर्तन भईरहेका छन् ,” तत्काल मेरो दिमाखमा कतै यो अमादव्लम र सगरमाथा पनि कुनै दिन नाङ्गो कालो पहाडको रूपमा त देखिने हैन ? यो दोश्रो परिवेशले म साह्रै झस्किएँ । यहि सगरमाथा हेर्न विश्वभरबाट पर्यटकहरू आउँछन् यदि मेरो कल्पना वास्तविकतामा परिणत भईदियो भने त ? हे भगवान त्यस्तो नहोस् । साँच्चै नेपाल जलवायु परिवर्तनको जोखिममा रहेको देश मध्ये एक हो भनेर कतै पढेको थिएँ , कतै आज हो सावित भईरहेको त छैन ?

वास्तवमा जलवायु परिवर्तनको थोरै मात्रै कारकको रूपमा रहेको नेपाल यसको असरको भने ठूलो जिम्मेवारी वहन गरिरहेको छ यो वास्तवमै पीडादायक छ । ठूलाठूला औद्योगिक राष्ट्रहरूको दिन प्रतिदिन बढ्दो कार्वन उत्सर्जन तथा हरितगृह उत्सर्जनको अगाडी नेपाल जस्तो अविकसित राष्ट्र साँच्चै निरिह बन्न पुगेको छ । हाम्रो जस्तो देशले न त कार्वन उत्सर्जनमा ति विकसित राष्ट्रहरू सँग प्रतिस्पर्धा गरेर थप विकसित बन्न सक्छ न त जलवायु परिवर्तनको असरबाट भाग्न नै । मेरो आशय फेरी हामीले टन्नै हरित गृह ग्यास उत्सर्जन गरेर पृथ्वीको तापक्रम बढाउनुमा ठूलो योगदान पुर्याउनुपर्छ भन्ने होइन । मात्रै आफुले नगरेको पापको सझाय भोग्नु परेकोमा चिन्ता व्यक्त गरेको हुँ ।

अव भने नेपालले जलवायु परिवर्तनको असरलाई लिएर गम्भिर रूपमा अगाडी बढ्नु पर्ने देखिन्छ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय नीति २०६७ लाई प्रादेशिकरण तथा स्थानीयकरण गर्नु आजको पहिलो आवश्यकता हो । जलवायु परिवर्तनका कारक तत्वहरूलाई रोक्न विश्व समुदायको ध्यान आकर्षण गर्नुका साथै सो सम्बन्धी थप आन्तरिक नीति तथा कार्यक्रमहरू तर्जुमा गरी लागु गर्न आवश्यक छ । जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरूबाट वच्न वचाउन, मानव विकास र समृद्धि कायम गर्दै दिगो विकासको अवधारणालाई अवलम्वन गरि स्थानीय तहहरू देखि नै वातावरण मैत्री विकास निर्माण गर्ने, वातावरण संरक्षणमा लाग्नु पर्ने तथा जलवायु परिवर्तन अनुकुल आर्थिक -सामाजिक पूर्वाधारको स्थापना गर्नु पर्ने र जलवायु परिवर्तनवाट सिर्जित अवसरहरूको समेत सदुपयोग गर्दै जानुपर्ने देखिएको छ । यसका लागि अध्ययन अनुसन्धान तथा खोजहरू गरि सोहि आधारमा नीतिगत तथा कार्यक्रमगत व्यवस्था गर्नुका साथै व्यापक जनचेतनाको अभिवृद्धि आवश्यक पर्दछ ।

अन्तमा, परिवर्तन अवश्यम्भावी छ । यसबाट भाग्न सकिँदैन । यस सँग जुध्नको लागि पूर्वतयारी र प्रतिकार्य गर्नुको विकल्प छैन । प्रकृतिले जता डोहोर्याउँछ त्यतै जानु सिवाय हाम्रो धर्म हो । यसर्थ प्रकृतिमैत्री क्रियाकलाप गरौँ र पृथ्वीको आयु र मानव अस्थित्वलाई जोगाऔँ ।

(लेखिका: सभापाेखरी गाउँपालिकाका प्रशासकीय अधिकृत हुन् ।)


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार