
- नवीन गुरुङ
संखुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखालाई निःशुल्क रुपमा दाताबाट ३० लाख रुपैया बराबरको जग्गा प्राप्त भएको छ ।
पत्रकार महासंघको भवन निर्माण गर्नका लागि खाँदबारीका स्थानीय उद्योगी, ब्यापारी तथा समाजसेवी कृष्णभगत प्रधानले आफ्नो स्वर्गीय पिता गोपालभगत प्रधानको स्मृतिमा ३० लाख बराबरको ९ मिटर (६३.२५ वर्ग मिटर) जग्गा दिएको हो ।
बुधबार मालपोत कार्यालय खाँदबारीमा नेपाल पत्रकार महासंघको नाममा दाता कृष्णभगत प्रधानले जग्गाको रजिष्टे«सन पास गरि जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो । जग्गादाता कृष्णभगत प्रधान र मालपोत कार्यालय प्रमुख चेतनाथ पराजुलीले पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई जग्गाधनी पूर्जा हस्तान्तरण गरेका थिए । दर्जनौ संघसंस्था आबद्ध प्रधान हाल संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने संचारउद्यमी समेत हुन् । उनी रेडियो संखुवासभाका अध्यक्ष हुन् ।
पत्रकार महासंघको भवन निर्माण गर्नका लागि खाँदबारी–१ स्थित टुडीखेलको बसपार्कसँग टाँसिएको जग्गा उपलब्ध गराएको हो । बसपार्क क्षेत्र समेत भएकाले मानिसहरुको धेरै आवातजावात भईरहने सो जग्गा स्थानीय मूल्य अनुसार प्रतिमिटर ३ देखि ४ लाख रुपैयामा कारोबार भईरहेको बताइएको छ । पत्रकार महासंघलाई दाताले करिब ३० लाख रुपैया बराबरको जग्गा हस्तान्तरण गरेको हो । सो जग्गामा यसैबर्ष देखि भवन निर्माण शुरु गरिने पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले बताए ।
उनको अनुसार, प्रदेश सरकारबाट भवन निर्माण लागि ३० लाख रुपैया बिनियोजन भएको छ भने खाँदबारी नगरपालिकाबाट ७ लाख रुपैया बिनियोजन भईसकेकाले अब तत्कालै भवन निर्माण कार्य शुरु हुने महासंघका अध्यक्ष गिरीको भनाइ छ । ‘यो बर्ष बजेटले भ्याएसम्म प्राविधिक स्टामिट तयार गरि निर्माण शुरु गरिने र आगामी बर्ष बजेट ब्यबस्थापन गरि भवन सम्पन्न गर्ने योजना रहेको छ ।’–अध्यक्ष गिरीले भने—‘जग्गा ब्यबस्थापन गर्नका लागि दाता, सम्पूर्ण संचारकर्मी मित्रहरु, स्थानीयसमाजसेवी र कार्यालय प्रमुख देखि सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।’
बर्षौ देखि भाडाको घरमा बसिरहेको नेपाल पत्रकार महासंघ संखुवासभा शाखा कार्यालय अव भने आफ्नै भवनमा बस्न पाउने भएको छ । पत्रकार महासंघले भवन निर्माणका जग्गा ब्यबस्थापन गर्न निकै लामो संघर्ष गर्नुपरेको थियो । एकदशक अगाडी नै पत्रकार महासंघको भवन निर्माण गर्नका लागि खाँदबारी नगरपालिकाले जग्गा दिने भनेपनि पछि कोसी कोरीडोरको सडकले काटेर सानो बनाएपछि समस्या भएको थियो ।
पत्रकार महासंघ संखुवासभामा हाल ४० जना सदस्यहरु रहेका छन् । जिल्लामा ९ वटा एफ.एम. रेडियो, ४ वटा साप्ताहिक पत्रिका र आधा दर्जन भन्दा बढि अनलाइन न्यूज पोर्टल संचालनमा रहेको छ । राष्ट्रिय संचारमाध्यममा जिल्ला अधिकाँस क्रियाशिल पत्रकारहरु आबद्ध छन् । उनीहरुले राष्ट्रियस्तरका टेलिभिजन, पत्रिका र अनलाइन न्यूज पोर्टलहरुमा रिर्पोटिङ गर्दै आइरहेका छन् ।
‘महासंघलाई जग्गा दिन पाउँदा मनैदेखि खुशी छु—दाता प्रधान’
राज्यको चौथों अंग भनेर चिनिएको पत्रकारहरुलाई बस्ने भवन निर्माणका लागि जग्गा दिन पाउँदा मनै देखि खुशी लागेको समाजसेवी कृष्णभगत प्रधानले बताए । ‘मेरो स्वर्गीय बुवाको स्मृतिमा पत्रकार महासंघको भवन निर्माण गर्दा मनभित्रैबाट ज्यादै खुशी छु । महासंघको भवन निर्माण गर्न मैले सक्ने र सकेको अझैपनि सहयोग गर्छु । सधै म महासंघको हितको लागि नै काम गर्छु ।’