
संखुवासभा । जिल्लाको मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा रहेको रेडियो साँङग्रिलामा कार्यरत संचारकर्मी नविनकला जैरु ‘एभीसीएनसी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएकी छिन् ।
मकालु गाउँपालिका–२ सेदुवा घर भएकी जैरुलाई आज (आइतबार) एक कार्यक्रम बीच प्रदेश साँसद विदुर लिङथेप र पत्रकार महासंघ संखुवासभा शाखा अध्यक्ष इन्द्र गिरीले नगद २५ हजार रुपैया राशीको ‘एभीसीएनसी पत्रकारिता पुरस्कार’ हस्तान्तरण गरेका हुन् ।
जिल्लाको चैनपुर नगरपालिका–१० स्थित काफलडाँडामा रहेको अरुणभ्याल्ली सामुदायिक सूचना केन्द्र (एभीसीएनसी) ले रेडियोको प्रथम बार्षिक साधारणसभाको अवसर पारेर पुरस्कार वितरण गरेको हो ।
नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको सिफारिसको आधारमा एभीसीएनसीले संचारकर्मी जैरुलाई पुरस्कृत गरेको एभीसीएनसीका अध्यक्ष प्रेम निरौलाले बताए । निरौला सो एभीसीएनसी संस्थाका अध्यक्ष तथा जिल्लामा क्रियाशिल पत्रका समेत हुन् ।
जिल्लामा महिला पत्रकारहरुको नगन्य अवस्थालाई चिर्दै आकर्षण होस् भनेर महिला पत्रकारलाई पुरस्कृत गरिएको एभीसीएनसीका अध्यक्ष निरौलाको भनाइ छ ।