
संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा जारी दोस्रो जिल्लास्तरीय खुल्ला आर्चरी/तीर (धनुवाण/दची हान्ने) प्रतियोगिताको उपाधी कु–दिङ फाउण्डेसनले चुमेको छ ।
शनिबार भएको फाइनल खेलमा कु–दिङ फाउण्डेसनले ५२५० अंक ल्याई विजयी घोषित भएका हुन् । उनको प्रतिस्पर्धी केवाईसी किमाथांकाले ५२२० अंक प्राप्त गरेका थिए ।
त्यसैगरि ४४८० अंक सहित तेस्रो स्थानमा थांमुछी विकास समाजले चित्त बुझाए भने चौथो स्थानमा ६०० अंक सहित बौद्धमार्गी समाज मानेभञ्जाङ्ग भए ।
उक्त प्रतियोतिामा अनुशासित टिम थांमुछी विकास समाज भए । नवप्रतिभा केवाइसी किमाथांका टिमका पेम्बा छिरिङ शेर्पा भए भने उत्कृष्ट खेलाडी थांमुछी विकास समाज पासाङ भोटे छानिए । धेरै अंक ल्याउने १२५० अंक सहित कु–दिङ फाउण्डेसनका ङादर भोटे छानिए । त्यसैगरि जेष्ठ खेलाडी खाँदबारी भोटे गुम्बाका ङादर्पा भोटे छानिए ।
प्रतियोगिताका विजेताले नगद १ लाख १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन् । भने दोश्रोले नगद ५१ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी र तेस्रोले नगद ३० हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरि चौथोले नगद १५ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन् ।
ब्यक्तिगत तर्फ उत्कृष्ट, बढि अंक ल्याउने खेलाडी, अनुशासित, नवप्रतिभा, जेष्ठ खेलाडीहरुले नगद ५ हजार १ सय, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन् ।
२१५० औं ग्याल्बो ल्होसारको अवसरमा खाँदबारीमा बिहीबार देखि शुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो । ‘खेलकुदको विकास सँगसँगै : संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित प्रतियोगिताको आयोजना गरिएको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले बताए । उक्त प्रतियोगितामा जिल्लाभरका ९ टिमले सहभागीता जनाएका थिए ।