
संखुुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा विहिबार देखि दोस्रो जिल्लास्तरीय खुल्ला आर्चरी/तीर (धनुवाण/दची हान्ने) प्रतियोगिता शुरु भएको छ ।
२१५० औं ग्याल्बो ल्होसारको अवसरमा खाँदबारीमा बिहीबार एक कार्यक्रम बीच जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले उद्घाटन गरे । प्रतियोगितामा खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे लगायतका विशिष्ट अतिथीहरुको उपस्थिती रहेको थियो ।
उक्त प्रतियोगितामा थांमुछी विकास क्लब, कर्माज्यामु फाउण्डेसन, केवाईसी, बौद्ध मार्गी, च्याम्ताङ, चन्द्र सूर्य गुम्बा, भोटखोला कर्मचारी, खाँदबारी भोटे गुम्बा र केवाईसी तीनपोखरी गरि जिल्लाभरका ९ टिमले सहभागीता जनाएका छन् । उद्घाटनको पहिलो दिन ६ टिमको छैंटो राउण्डको खेल सम्पन्न भएको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले बताए ।
उक्त प्रतियोगिताका विजेताले नगद १ लाख १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । भने दोश्रोले नगद ५१ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी र नगद ३० हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरि चौथोले नगद १५ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । ब्यक्तिगत उत्कृष्ट, बढि अंक ल्याउने खेलाडी, अनुशासित, नवप्रतिभा, जेष्ठ खेलाडीहरुले नगद ५ हजार १ सय, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
संखुवासभाको उत्तरीक्षेत्र भोटखोला क्षेत्रमा खेलिने यो खेल अझ धेरै मानिसहरुले खेल बारेमा जानकारी होस भनेर गत बर्ष देखी सदरमुकाम खाँदबारीमा आयोजना गर्न शुरुवात गरिएको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले बताए । उनले यो प्रतियोगिता नयाँ जस्तो लागेपनि परम्परागत खेलको संरक्षणमा जुटेको बताए ।
उक्त प्रतियोगिता संचालन गर्न कर्माज्यामु भोटे फाउन्डेसनको प्रायोजन र सेभेन समिट ट्रेकले सहयोग गरेको आयोजकले जनाएको छ । ‘खेलकुदको विकास सँगसँगै : संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित बिहीबार देखि शुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ ।