Logo

संखुवासभामा सामुदायिक वन दिवश मनाइयो (फोटो फिचर)

Sankhuwasabha Express २६ श्रावण २०७९, बिहीबार २१:३० मा प्रकाशित

संखुवासभा । जिल्लामा सामुदायिक वन दिवश विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ । ‘सुशासन र समृद्वि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मुलनाराका साथ बिहीबार खाँदबारी नगरपालिका–९ को घैंयाबारी भन्ने स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरीे तीन दिवशीय कार्यक्रम मनाइएको हो ।

उक्त कार्यक्रम डिभिजन वन कार्यालय संखुवासभा, सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ संखुवासभा र मनकामना सामुदायिक वन उपभोक्ता समुह खाँदबारी नगरपालिका–९ को संयुक्त आयोजनामा मंगलबार देखि शुरु भई बिहिबार समापन गरिएको हो ।

डिभिजन बन कार्यालय संखुवासभाका सहायक वन अधिकृत नवीनराज दाहालको अनुसार, सामुदायिक वन दिवशको पहिलो दिन सरोकारवालाहरु बीच छलफल र अन्तरक्रिया गरिएको थियो भने दोस्रो दिन खाँदबारी नगरपालिका–९ स्थित मनकामना सामुदायिक वन क्षेत्र भित्र पर्ने तुम्लिङटार–खाँदबारी सडकखण्डको ढुङेबिसौना नजिकको क्षेत्रमा जथाभावी रुपमा सडक किनारामा थुपारी राखेका शिशाजन्य फोहोरहरु खाँदबारी नगरपालिकाको सहयोगमा उक्त स्थानबाट हटाई डम्पिङ साईटमा व्यवस्थापन गर्ने कार्य गरिएको थियो । त्यसैगरि तेस्रो दिन बिहिबार खाँदबारी नगरपालिका वडा नं. ९ को घैंयाबारी भन्ने स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

मनकामना सामुदायिक वनको घैयाँबारीमा ५० वटा टिक तथा खयर प्रजातिका विरुवाहरु रोपण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दाहालले बताए । संखुवासभा जिल्लामा दर्ता रहेका २९० वटा सामुदायिक वनहरुको प्रतिनिधत्व रहने गरी सो स्थानमा थप विरुवाहरु लगाउने योजना रहेको उनको भनाइ छ ।

उक्त वृक्षारोपण कार्यक्रममा भोटखोला गाउँपालिकाका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघका संखुवासभा जिल्ला सचिब वाङछेदर भोटे, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्य, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा, डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत चन्द्रलाल राई, फेकोफन केन्द्रिय सदस्य बद्रि सापकोटा, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, पत्रकार महासंघका उपाध्यक्ष कृष्णराज शाक्य, खाँदबारी नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष बिमल गौतम, जिल्लाका शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, मनकामना सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधी तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दहालका अनुसार संखुवासभा जिल्लामा हालसम्म २९० वटा सामुदायिक वन दर्ता भई ३७ हजार ७ सय ६२ हेक्टर वन क्षेत्र समुहबाट व्यवस्थापन भईरहेको र उक्त कार्यमा जिल्लाका ३० हजार ३ सय ७० घरधुरी संलग्न रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार